काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन् ।
शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचारविरूद्ध पार्टीको अभियान नरोकिने बताए ।
‘नेपाली जनताले भ्रष्टाचार निर्मूल पार्नु पर्यो भनेर घण्टी बजाएका हुन् । नेता नभएर होइन । पार्टी नभएर होइन । झण्डा नभएर होइन, चुनाव चिन्ह नभएर होइन । यो कुरा हामीले बुझेका छौं,’ उनले भने, ‘त्यसकारणले जतिसुकै घेराबन्दी हुन् । जतिसुकै मुद्दा चल्दै गरुन् । भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं । ’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको स्पष्ट पारे ।
उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्न आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए ।
FACEBOOK COMMENTS