खलङ्गा । नौवटा स्थानीय तह रहेको दार्चुलामा आठवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार असार १० गतेसम्म बजेट पेस गरिसक्नुपर्ने नियमानुसार जिल्लाको शैल्यशिखर नगरपालिका बाहेकका आठवटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् ।
शैल्यशिखर नगरपालिकाले भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार आइतबार असार १० गते बजेट ल्याउन सकेको छैन । विविध समस्याका कारण समयमै बजेट ल्याउन नसकिएको नगर उपप्रमुख शान्ति खडायतले बताए । जिल्लाका अन्य स्थानीय तहले भने नियमानुसार असार १० गतेभित्रै बजेट पेस गरिसकेका छन् ।
जिल्लाको लेकम, मार्मा, अपी हिमाल, मालिकार्जुन, नौगाड, व्याँस गाउँपालिका तथा महाकाली नगरपालिकाले असार १० गते बजेट ल्याएका छन् भने दुहूँ गाउँपालिकाले यसअघि असार ७ गते नै बजेट सार्वजनिक गरिसकेको छ ।
जिल्लाको महाकाली नगरपालिकाले आगामी आर्थिक वर्षको २०८०/८१ का लागि रु ६३ करोड २३ लाख ९७ हजार छ सय ६० को बजेट नगरसभामा पेस गरेको छ ।
त्यस्तै, जिल्लाको मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५९ करोड १३ लाख ६४ हजारको बजेट गाउँसभामा पेस गरेको छ ।
त्यस्तै, लेकम गाउँपालिकाले रु ४८ करोड ९७ लाख ५७ हजार चार सय, दुहूँ गाउँपालिकाले रु ३६ करोड चार लाख ७० हजार छ सय तथा अपी हिमाल गाउँपालिकाले रु ३० करोड ५० लाख ९७ हजारको बजेट गाउँसभामा पेस गरेका छन् ।
त्यस्तै, जिल्लाको नौगाड गाउँपालिकाले रु ४० करोड ७६ लाख ४७ हजार पाँच सय, व्याँस गाउँपालिकाले रु ३८ करोड ४५ लाख २४ हजार सात सय र मार्मा गाउँपालिकाले रु ४० करोड ३३ लाख ६१ हजारको बजेट गाउँसभामा पेस गरेका छन् ।a
FACEBOOK COMMENTS