म्याग्दी । गत वर्ष एक लाख ६० हजार रुपैयाँको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख २० हजार रुपैयाँको मात्र स्याउ बिक्री गरे। थकालीको बगैँचामा १५० स्याउका बोटका छन्।
यस्तै, गत वर्ष १२ लाख रुपैयाँको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले पाँच लाख रुपैयाँमा ठेक्कामा दिएको बताए। राजेन्द्र र भूपेन्द्र मात्र नभएर मुस्ताङका सबैजसो किसान यसपाली स्याउ खेतीबाट आम्दानी घटेकामा निराश भएका छन्।
‘स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुसारोले कम फल लागेको छ,’ राजेन्द्रले भने, ‘बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घट्यो।’
यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए।
‘फूल खेलेर परागशेचन हुने समयमा धेरै वर्षा हुँदा फूलबाट दाना कम लागेको छ,’ उनले भने ‘यसवर्ष स्याउको फूल फुल्ने समय वैशाख–जेठमा वर्षाले बोटमा परागसेचन ९पोलिनेशन० हुन पाएन्।’
मुस्ताङको एक हजार १७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ।
‘३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको छ’, बस्ताकोटीले भने, ‘गत वर्ष जिल्लामा ६ हजार ६०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो।’
पचास करोड रुपैयाँ मूल्य बराबरको चार हजार ६२० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायतका सहरमा निकासी भएको उनले जानकारी दिए। बगैँचामा प्रतिकिलो १०० देखि १२० रुपैयाँका दरले स्याउ बिक्री हुने गरेको बस्ताकोटीले बताए।
मुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउनेको चटारो रहेको भन्दै किसान भूपेन्द्रले स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको बताए।
‘यसअघिको वर्षमा मंसिरसम्म स्याउ बोटमै हुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचाहरु रित्तिन थालेका छन्’, उनले भने, ‘नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैँचा व्यापारीलाई ठेक्का दिने गरेका छौं।’
किसान बलबहादुर थकालीले ठेक्का लिएका व्यापारी आफैले स्याउ टिपेर बजार लैजाने गरेका बताए।
‘स्याउलाई बजारको समस्या छैन,’ उनले भने ‘फलाउन सक्नु पर्यो जति पनि बिक्री हुन्छ।’
FACEBOOK COMMENTS