काठमाडौं । चलचित्र विधाबाट काठमाडौं युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) मा जोडिएको छ। रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिकाले चलचित्र विधा छानेको थियो।
युसिसिएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो। यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो।
सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरू आवद्ध छन्। यस पटक ५५ वटा सहर थपिएका हुन्। रचनात्मक सहरका सबै विधाहरू काठमाडौंसँग सम्बन्धित छन्। चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको हो।
रचनात्मक सहरमा आवद्ध हुन निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो। सरोकारवालाबीच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्सांकनसहितका काम भइसकेका छन्।
जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौंलाई रचनात्मक सहरका रूपमा हेर्ने गरिएको छ। जात्रा पर्व, मौलिक भेषभुषा, खानपान काठमाडौंसँग जोडिएर आउने बिम्ब हुन्। सहर भन्नेबित्तिकै मनमा आउने पहिलो चित्र यही हो।
फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्न(भिन्न सहरलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा हो।
एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन्।
यसबाट सहरहरूलाई अन्तर्राष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने उद्देश्य राखिएको छ।
यस वर्ष सञ्जालमा जोडिएका सहरमध्ये काठमाडौंसहित ५ वटा सहर चलचित्र विधामा छानिएका छन्। यस्तै, संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी ९खानाका परिकार० मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन्।
युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसिसिएन) का कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ। महानगर गौरव तथा स्वर्णिम योजना र विभागहरूले सञ्चालन गर्ने क्रियाकलापका अन्तरसम्बन्ध स्थापित गर्दै लगिनेछ।
FACEBOOK COMMENTS