काठमाडौं माघ २८- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले सहकारी ऐन २०७४ संशोधन गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए । सहकारी मार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला गोष्ठीलाई मंगबार काठमाडौंमा सम्बोधन गर्दै सहकारीको बचतलाई छुटटै व्यवस्था गर्न लागेको समेत मन्त्री आर्यालले जानकारी दिइन् ।
सहकारी अब प्रवद्र्धनको चरणबाट व्यसायिक चरणमा प्रवेश गरिसकेको अर्यालले बताइन् । उनले घरेलु तथा साना उद्योगको विकास र विस्तारमा सहकारी लाग्नुपर्ने बताइन् । अर्यालले भनिन्, ‘हिजो हामी घरेलु उद्योगलाई हेला गर्यौं । अब त्यसलाई नै उजागर गरेर धेरै मानिसलाई उद्यमी बनाउने रोजगारी सिर्जना गर्ने कार्यलाई बढवा दिनुपर्छ ।’
मन्त्री अर्यालले कृषिको व्यवसायीकरण र यान्त्रीकरण गर्ने माध्यम सहकारी भएकोले स्थानीय तहले सहकारीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह समेत गरिन्। उनले हिजोका दिनमा मानिसलाई जागरण गर्न आवश्यक रहेकोमा अब देश विकास गर्न परिणाममुखि काम गर्न जरुरी रहेको बताइन् ।
आज र भोलि काठमाडौंमा चल्ने कार्यशाला गोष्ठीमा विभिन्न जिल्लाबाट सहकारीका सञ्चालक र सहकारी अभियान्ता बीच सहकारी मार्फत उद्यमशीलता विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भईरहेको छ ।
FACEBOOK COMMENTS