काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सञ्चालकहरूको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको बताएको छ ।
नेपाल धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने’ व्यवस्था संशोधन गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले अर्थसचिव कृष्णहरि पुष्करसँग अर्थमन्त्रालयमा आज मंगलबार भेट गरी धितोपत्र बोर्डबाट जारी भएको निर्देशिका अव्यावहारिक भएको बताएको हो । कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत शेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ ।’
FACEBOOK COMMENTS