काठमाडौं । मानव तस्करीमा संलग्न एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको भन्दै १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रुकुम सानीभेरी गाउँपालिका–१० का ३८ वर्षीय नरबीर खड्का, सर्लाही विष्णु गाउँपालिका–६ का ३१ वर्षीय अरविन्द्र यादव, झापा कमलादी गाउँपालिका–२ का ४२ वर्षीय होम पोखरेल, महोत्तरी जलेश्वर नगरपालिका–२ का ३० वर्षीय मनुराज चौधरी, स्याङ्जा चापाकोट नगरपालिका–१० का ३६ वर्षीय रामप्रसाद भण्डारी र गुल्मी सत्यवती गाउँपालिका–५ का ३४ वर्षीय दिनेश ज्ञवाली छन् ।
यस्तै, सिरहा मिर्चैया नगरपालिका–१२ का २७ वर्षीय सरोज कुमार यादव, मोरङ उर्लाबारी नगरपालिका–५ का ५१ वर्षीय देवराज खनाल, अर्घाखाँची पाणिनी गाउँपालिका–८ का ३५ वर्षीय गणेश पाण्डे, सिन्धुपाल्चोक लिसंखुपाखर–७ का ३० वर्षीय सञ्जय तामाङ, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ५३ वर्षीय राज किशोर शाह र स्याङजा वालिङ गाउँपालिका–६ का २५ वर्षीय रविन अर्याललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भिजिट भिषामा विदेश जान लागेका युवा युवतीका शंकास्पद कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पुगेपछि अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजार सेटिङ मिलाई पठाउने गरेको खुल्न आएपछि उनीहरूलाई खोजी गरी पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ । उक्त सेटिङमा संलग्न भइ पक्राउ परेकाहरूमा एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीहरू रहेको प्रहरीले जानकारी दिएको छ ।
सो कार्यालयबाट गत असोज १५ गतेदेखि हालसम्म १ हजार ५१३ थान शंकास्पद कागजात आएकामध्ये +टू सर्टिफिकेट, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट गरी २४६ थान कागजात नक्कली देखिएको थियो । उनीहरूलाई लिखतसम्बन्धी कसुर समेतका अपराधमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको छ ।
FACEBOOK COMMENTS