काठमाडौं । जीवन बीमा कम्पनीहरूमध्ये पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरेको छ ।
सूर्यज्योति लाइफले मर्जरको एक वर्षको आफूलाई अझै दरिलो रूपमा उभ्याउन सफल भएको कम्पनीले बताएको छ । एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिस्कृत बीमा योजनाहरू र ग्राहकमैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रूपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार सुरू गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बीमा कोष झण्डै ८ अर्ब रूपैयाँले बढेर ३० अर्ब रूपैयाँ पुगेको छ । यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रूपैयाँ रहेको छ । कम्पनीले मङ्सिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रूपैयाँ कायम गर्न सफल भएको छ ।
चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रूपैयाँ बीमा दाबी भुक्तानी गरेको छ भने देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत आफ्ना आफ्ना बीमितहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै कम्पनीले करिब २३ लाख जीवन बीमालेख बिक्री गरिसकेको जनाएको छ । जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमकका रूपमा समेत उभिएको कम्पनीको दाबी छ । कम्पनीमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशैभरि करिब ९४ हजार अभिकर्ता सूर्यज्योति लाइफमा आबद्ध रहेको कम्पनीले जनाएको छ ।
बजारको आवश्यकता र नवीनतम सोच अनुसार बीमा योजनाहरू ल्याउने रणनीतिअन्तर्गत यो जीवन बीमा कम्पनीले हालै कम प्रिमियममा नै ठूलो बीमा गर्न सकिने र ७० वर्षको उमेरमा तिरेको सम्पूर्ण रकम फिर्ता हुने साथै रक्षावरण आजीवन रही रहने आजीवन म्यादी बीमा ‘सही प्लान’बीमा योजना सार्वजनिक गरिसकेको छ ।
बीमा नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरूबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाएपछि सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
बीमाङ्कीय मूल्याङ्कन, विस्तृत लेखा परीक्षण र साधारण सभापछि यी दुवै कम्पनीले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ भएको थियो । नेपालमै आईएसओ ९००१ एम२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो सूर्यज्योति लाइफ बन्न सफल भएको कम्पनीको भनाइ छ ।
आदरणीय बीमितहरूले कम्पनीप्रति दिएको गाढा विश्वास, कम्पनीलाई यो उचाईमा पुर्याउन अविरल साथ र अथक मेहनत गर्ने आदरणीय अभिकर्ताहरू, अहोरात्र सेवाका लागि अग्रपन्थीमा रहनुहुने कर्मचारीहरू, हरेक पाइलाहरूमा मार्गनिर्देश गर्ने नियमनकारी निकाय बीमा प्राधिकरण, सदैव आफूलाई सत्मार्गको बाटो देखाउने कम्पनीका सञ्चालकहरू तथा कम्पनीमा आवद्ध सेयरधनीहरू लगायत सबै सबैप्रति मर्जरको यो पहिलो वार्षिक उत्सवका अवसरमा कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
FACEBOOK COMMENTS