काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण भएको बताएका छन् ।
सीआईएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को आज शनिबार उद्घाटन गर्दै मन्त्री डा. महतले नेपालमा युवाको क्षमता, योग्यता र समर्पण हुनाका साथै प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म समेत भएको बताएका हुन् ।
‘डिजिटल प्लेटफर्मले बिजनेशलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरुले डिजिटल प्लेटफर्ममार्फत् बजारमा सजिलै पहुँच पुर्याउन सक्छन् । न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन्,’ उनले भने, ‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरु सहज महसुस गर्छन् । त्यसैले सरकारले आईटी नीति बजेटमार्फत् व्यवहारिक कार्यान्वयनतर्फ लगिएको छ ।’
राज्यले दिएको यो सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताए । उनका अनुसार यसले बिजनेश सुरू गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘नेपाली युवाहरुलाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।’
नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने, ‘अहिले पनि ठूलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँदैछ । नेपालभित्रै पनि विभिन्न डमोस्टिक क्षेत्र विकसित हुँदैछ । जसले गर्दा विभिन्न क्षेत्रको विजनेश व्यवसाय सहज हुँदैछ, लागत घट्दैछ । यसमा सरकारले सकेसम्म योगदान दिनुपर्छ ।’ आईटी सेक्टरमा निर्यात बढिरहेको र आउँदा दिनमा अझ बढ्ने विश्वास व्यक्त गर्दै मन्त्री महतले यसको संस्थागत विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने बताए ।
‘झन्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो । १२ कक्षापछि विदेश जाने चलन छ, तिनीहरुलाई रोक्नुपर्छ । हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन,’ मन्त्री डा. महतले भने, ‘१२ कक्षापछि विदेश जाने परम्परालाई रोक्न यही प्लेटफर्ममार्फत् थाल्न अनुरोध गर्दछु ।’
FACEBOOK COMMENTS