काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग आग्रह गरेका छन् ।
उनले सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बर्ताए नेपाल हस्तकला महासङ्घको ४३औँ वार्षिक साधारणसभामा उनले मुलुकको आर्थिक परिसूचकाङ्क सकारात्मक दिशाउन्मुख रहेका उल्लेख गर्दै उनले सकारात्मक भाष्यका साथ अघि बढ्न व्यवसायीलाई आह्वान गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला क्षेत्रमा पुस्तान्तरणको अभाव देखिन थालेकामा चिन्ता व्यक्त गर्दै युवा पुस्तालाई पनि यस क्षेत्रमा आकर्षित गर्न विभिन्न योजना ल्याइनुपर्ने बताए । व्यापार घाटा घटाउन हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको जनाउँदै उनले निर्यात प्रवद्र्धनका लागि सरकारी सहयोग अभिवृद्धि हुनुपर्ने बताए ।
नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले हस्तकला क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले निर्यात प्रवद्र्धनमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय समुदायमा देशको कला, संस्कृति, पहिचान एवं गरिमा बढाउने हस्तकला क्षेत्र भएको उल्लेख गर्दै यसको प्रवद्र्धनमा सबैको सहयोग आवश्यक रहेको बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हस्तकलाका सामग्रीलाई सौन्दर्यीकरणको भाव दिन प्रतिष्ठान क्रियाशील रहेको बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वबजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गर्न उद्यमीलाई सुझाव दिए ।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले हस्तकला क्षेत्रको विकासमा तीनै तहका सरकारको सहयोग आवश्यक रहेको बताए । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यवसाय प्रवद्र्धन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराइनुपर्ने बताए । उनले सम्पूर्ण सरकारी कार्यालयमा हस्तकलाका सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराए ।
FACEBOOK COMMENTS