दोलखा । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात सुरू भएको छ ।
दुई दिनयता नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव बढेसँगै कालिञ्चोक क्षत्रेमा वर्षा र हिमपात भएको हो ।
आज मंगलबार दिउँसोदेखि सुरू भएको हिमपात यो वर्षकै पहिलो भएको कालिञ्चोक क्षेत्रमा होटेल सञ्चालन गरिरहेका होटेल व्यवसायी एवम् होटेल सुनापातीका सञ्चालक हरि ओलीले जानकारी दिए ।
गत वर्ष कालिञ्चोकमा पहिलो पटक फागु १३ गते हिमपात भएको थियो । समुद्री सतहबाट तीन हजार ८४२ मिटर उचाइमा रहेको दोलखाको प्रसिद्ध कालिञ्चोकमा विशेषगरी हरेक वर्ष पुसदेखि चैत्रसम्मै हिमपात हुने गरेको छ । तर यो वर्ष भने माघको सुरूमै हिमपात सुरू भएको हो ।
हिमपातसँगै हिउँ खेलेर रमाउन र कालिञ्चोक भगवतीको दर्शन गर्न जिल्लाभित्र र जिल्लाबाहिरबाट समेत आन्तरिक र बाह्य पर्यटकहरू कालिञ्चोक पुग्ने गरेका छन् । हिमपात सुरू भएसँगै कालिञ्चोक पुगेका पर्यटकहरू हिउँ खेलिरहेको भिडिओमार्फत देख्न सकिन्छ ।
पछिल्लो समय कालिञ्चोक पुग्ने पर्यटकहरूका लागि खाना र बस्नका लागि सुविधासम्पन्न होटेल तथा लजहरू खुलेसँगै कालिञ्चोकमा पर्यटकहरूको आकर्षण बढाएको छ ।
भिडिओ तथा तस्वीर सौजन्य : हरि ओली/दोलखा
FACEBOOK COMMENTS