काठमाडौं । निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई विपद्का बेलामा सहयोग गर्ने लक्ष्यका साथ ‘निर्माण श्रमिक कल्याणकारी कोष’को शुभारम्भ गरिएको छ ।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा आज निर्माण क्षेत्रमा कार्यरत श्रमिकको सहयोगका लागि कोषको शुभारम्भ गरिएको हो ।
कोषको शुभारम्भ गरिएसँगै दुर्घटनामा परेका तथा अस्पतालमा भर्ना भएका श्रमिकले अब कोषमार्फत सहयोग पाउने छन् । सङ्घका केन्द्रीय अध्यक्ष प्रदीप आचार्यले बिरामीको प्रकृति हेरेर कोषमार्फत श्रमिकलाई सहयोग गरिने बताए । उनले सामान्य दुर्घटनामा परेका बिरामीलाई पाँचदेखि १० हजारसम्म, दुर्घटनामा अङ्गभङ्ग भएका बिरामीलाई १० देखि २५ हजारसम्म, श्रमिकको मृत्यु भएमा परिवारलाई किरिया खर्चस्वरुप २५ हजारसम्म उपलव्ध गराइने बताए ।
कोषमा आबद्ध हुनका लागि प्रत्येक श्रमिकले सुरुमा दर्तास्वरुप रु तीन सय तिनुपर्ने र सङ्घको सदस्यता नवीकरण गरेको हुनुपर्नेछ । देशभर ३४ हजार पाँच सय श्रमिक आबद्ध रहेको उक्त सङ्घमा आगामी वर्ष १० हजार श्रमिकलाई उक्त कोषमा आबद्ध गराउने लक्ष्य राखिएको अध्यक्ष आचार्यले बताए ।
कोषमा हाल रु पाँच लाख जम्मा गरिसकिएको छ भने बाँकी रु दुई लाख २६औँ स्थापना दिवसका अवसरमा सङ्कलन गरिएको छ । आगामी वर्ष कोषको रकम रु १५ लाख पुर्याउने लक्ष्य सङ्घले लिएको छ ।
कल्याणकारी कोषको शुभारम्भ गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले देश निर्माणको मेरुदण्ड निर्माण क्षेत्र भएकाले यो क्षेत्रलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए ।
“श्रमिकको सम्मान गर्न सकेमात्र देशको विकास हुन्छ”, उनले भने । ठूलाठूला महल, सडक, कलकारखाना, विद्युत्गृहलगायत बहुराष्ट्रिय आयोजनामा काम गर्ने श्रमिकको अवस्था सुधार्न राज्य लाग्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा कल्याणकारी कोषमा सहयोग गर्ने सहयोगदातालाई खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
FACEBOOK COMMENTS