काठमाडौं । पोखरास्थित सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । यसअघि संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।
बाग्लुङ्ग घर भएका थानबहादुर बुढामगर सहकारीको वर्तमान अध्यक्ष हुन् । ओखलढुङ्गाका भूपेन्द्र राई पूर्व अध्यक्ष हुन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल’ मार्फत उनीहरुविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको प्रहरीले बताएको छ ।
जीबी राईसहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । पूर्व सदस्य शिवबहादुर गुरुङविरुद्ध डिफ्युजन जारी भएको छैन ।
अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबीविरुद्ध नोटिस जारी गरिएको हो । नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि उनीहरूलाई इन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ ।
सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।
सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।
FACEBOOK COMMENTS