काठमाडौं । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राई दोषी ठहर भएका छन् ।
समिरविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले दायर गरेको मुद्दालाई अन्तिम किनारा लगाउँदै विशेष अदालतले मंगलबार उनलाई ६ महिनाको जेल सजाय तोकेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले राईलाई दोषी ठहर गरेको हो ।
राईले दुबईबाट भित्र्याएको ९८ लाख ५८ हजार ९ सय ४३ रुपैयाँमध्ये विशेष अदालतले ९० लाख ५८ हजार २ सय ४३ रुपैयाँको श्रोत खुल्न नसकेको ठहर गरेको हो ।
राईलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा ३०(१) (क) बमोजिम विगो बराबर ९० लाख ५८ हजार २४३ रूपैयाँ जरिवाना र १ वर्ष कैद सजाय सुनाइएको हो। त्यस्तै वैध श्रोत नखुलेको ९० लाख ५८ हजार २४३ रुपैयाँ जफत हुने फैसला अदालतले सुनाएको छ । यस प्रकरणमा अर्की प्रतिवादी अम्बिका राईले सफाइ पाएकी छन् ।
चोरीको कसुर गरी दुबईमा प्राप्त गरेको ९८ लाख ५८ हजार नौ सय ४३ रुपैयाँ वायर ट्रान्सफरका माध्यमले नेपाल भित्र्याएको पुष्टि भएको भन्दै राईविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाएको थियो ।
दुबईमा मनी ट्रान्सपोर्टरको रूपमा काम गर्ने राईले कम्पनीमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी रकम लिई नेपाल आएका थिए ।
उनले नेपाल बैंक ललितपुरको खातामा जम्मा गरेको धरौटी आम्दानी ९० लाख ५८ हजार दुई सय ४३ रुपैयाँ जफत हुन मागवादीसमेत विभागले गरेको छ ।
FACEBOOK COMMENTS