काठमाडौं । रसुवामा गएको भदौ १० मा आएको बाढीले उद्योग, ऊर्जा, यातायात र सेवा क्षेत्रमा पारेको असरका कारण नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ।
पुनर्निर्माण र पुन:स्थापनाका काम अघि बढेपछि भने आर्थिक गतिविधि बढ्ने र आगामी आर्थिक वर्ष २०८४/८५ मा वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान छ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा बाढीबाट भएको क्षतिले उद्योग क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य अवरोध बनाउने उल्लेख छ।
बाढीले जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण र यातायात पूर्वाधारमा क्षति पुर्याएकाले विद्युत् उत्पादन, उद्योग सञ्चालन र वस्तुको आवागमन प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ। व्यापार, यातायात, पर्यटन र वित्तीय गतिविधिमा परेको अवरोधका कारण सेवा क्षेत्र पनि प्रभावित हुने अनुमान गरिएको छ।
कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव भने तुलनात्मक रूपमा सीमित रहने विश्व बैंकको आँकलन छ। बाढी प्रभावित क्षेत्रमा यसले स्थानीय बासिन्दाको जीविकामा उल्लेखनीय असर पार्न सक्ने प्रतिवेदनले जनाएको छ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले बाढीबाट भएको क्षतिले सडक तथा सञ्चार सञ्जाल, ऊर्जा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसर पनि दिएको छ। जलवायु परिवर्तनसँगै बढिरहेको जोखिमलाई ध्यानमा राखेर पूर्वाधार योजना र लगानीमा बढी उत्थानशील तथा वैकल्पिक व्यवस्था समेट्नुपर्ने उनले बताए।

विश्व बैंकले पुनर्निर्माण गर्दा क्षतिग्रस्त संरचना पुरानै अवस्थामा फर्काउनेमा मात्र सीमित नहुन सुझाव दिएको छ। त्यसका लागि बहुविपद् जोखिमको पुनर्मूल्यांकन, पूर्वाधारको स्थान र डिजाइनमा पुनर्विचार तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

विपद् आउनुअघि जोखिमबारे सूचना दिने प्रणाली बलियो बनाउनुपर्ने र संकटमा परेका परिवारलाई छिटो सहायता उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली विकास गर्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ।
विश्व बैंकको सोही अध्ययनसँग जोडिएको दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदनले यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सन् २०२७ मा भने वृद्धिदर ६.७ प्रतिशतमा झर्ने अनुमान छ।
प्रतिवेदनले दक्षिण एसियामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा अझै पछाडि रहेको जनाएको छ। तर व्यवसायले नयाँ बजार र अवसर पहिचान गर्न एआई प्रयोग गर्न थालेकाले यसको प्रयोगबाट उत्पादकत्व र निर्यात बढाउने सम्भावना रहेको प्रतिवेदनको निष्कर्ष छ।