काठमाडौँ । सर्लाहीको बरहथवामा गत पुस २० गते भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका ३० वर्षीय जयशंकर साहका परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका साहका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
गत पुस २० गते बरहथवा नगरपालिका(६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरी अस्पताल बनाएर मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णयलाई लिएर प्रदर्शन भएको थियो ।
उक्त निर्णय कार्यान्वयनको मागसहित नेपाली कांग्रेस र अन्य दलका कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । त्यही क्रममा तनाव बढेपछि झडप हुँदा प्रहरीले चलाएको गोलीले साहको घटनास्थलमै ज्यान गएको थियो ।
त्यसबेलाको प्रदर्शनका क्रममा नगरपालिका कार्यालय र मेयर कल्पनाकुमारी कटुवालको घरमा पनि आक्रमण भएको थियो । उक्त आक्रमणपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठी, अश्रु ग्यास र गोलीसम्म चलाएको थियो ।
FACEBOOK COMMENTS