वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले व्यवसायीहरूलाई बीमा शुल्क छुट दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग आग्रह गरेका छन् ।
प्राधिकरणले हिजो बुधबार वीरगञ्जमा आयोजना गरेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बीमासम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रममा उनले आर्थिक शिथिलताको हालको अवस्थामा उद्योगी व्यवसायीहरूलाई बीमा शुल्कमा छुट दिने व्यवस्था गर्न आग्रह गरेका हुन् ।
यस्तै, उद्योगी व्यवसायीहरूले सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरी जोखिम नदेखिएको अवस्थामा बीमा शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न, न्यून बीमाको पहुँच रहेको मधेश प्रदेशमा बीमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन, कोरोना बीमाको बाँकी दाबी भुक्तानी छिट्टै पाउने व्यवस्था गर्न र बीमा दाबी भुक्तानीलाई सरल एवम् सहज बनाउन पनि उनले आग्रह गरेका छन् ।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले विभिन्न देशमा बीमादर कम हुँदा पनि नेपालमा केही बीमालेखमा बीमादर बढी भएका कारण उद्योगी व्यवसायीहरूलाई मर्का परेको भन्दै त्यसतर्फ नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार बीमालेख ल्याउने प्रक्रिया अघि बढाइने बताएका छन् । बजारको अध्ययन अनुसन्धान गरी नयाँ बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकिएको उनले बताए ।
‘उद्योग व्यवसायको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न प्याकेजमा कभर हुने गरी सम्पत्ति बीमा निर्देशिका जारी गरिएको छ, यसमा केही कमी कमजोरी देखिएमा सुधार गर्न सकिन्छ, बीमा कम्पनीले पुनर्बीमा गर्ने भएकाले त्यसलाई ध्यान दिनुपर्छ र अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्नुपर्छ,’ अध्यक्ष सिलवालले भने ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले स्वागत मन्तव्य व्यक्त गर्दै बीमा क्षेत्रको विद्यमान अवस्था, उद्योग व्यवसायमा बीमाको महत्व र बीमासम्बन्धी अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी प्रस्तुती गरेका थिए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, उद्योगी व्यवसायी र बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरू लगायतको सहभागिता थियो भने कार्यक्रम सञ्चालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेकी थिइन् ।
उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार बीमालेख ल्याउने प्रक्रिया अघि बढाइने
FACEBOOK COMMENTS