काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैंकहरूसँग ऋण लिएर तिर्दिन भन्नु आपराधिक प्रवृत्ति भएको र त्यस्तो प्रवृत्ति र आफू र वर्तमान सरकारलाई स्वीकार्य नभएको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कले आज आयोजना गरेको ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’लाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले पछिल्लो समय सबै क्षेत्रमा नकारात्मकता फैलिँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ‘बैंकसँग ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य छैन,’ उनले भने, ‘धार्मिक, सामाजिक अतिवाद र समाजलाई विखण्डन गर्न खोज्नेलाई सरकारले कारबाही गर्छ ।’
बैंकहरूलाई नयाँ सुदखोर र साहुजी भन्न थालिएको तथा राजनीतिज्ञहरु भ्रष्टाचार गर्छन्, तस्कर गर्छन् भन्ने धारणा विकास हुँदै गएकामा पनि उनले चिन्ता व्यक्त गरेका छन् । ‘सबैले आफैले आफैलाई गाली गर्ने र कोही पनि ठीक छैन भन्ने भाष्य निर्माण गर्ने परिपाटी राम्रो होइन,’ उनले भने, ‘उच्चभन्दा उच्च तहका मानिसलाई पनि छानबिन गरेर कारबाहीको प्रत्याभूति विद्यमान व्यवस्थाले गरेको छ । कोही पनि कानुनभन्दा माथि छैनन् । कोहीसँग नजिक भएकै कारणले उसलाई अपराधी भनेर आरोप लगाउनु हुँदैन । सबैलाई एकै ठाउँमा राखेर आरोप लगाउन हुँदैन तर प्रश्न उठिसकेपछि जवाफ दिनुपर्छ । म माथि प्रश्न उठेको भए मैले पनि जवाफ दिनुपर्छ ।’
हरेक संस्था र निकाय किन यति धेरै भ्रष्ट्र हुँदै गएका छन् भनेर आम रुपमा उठिरहेका प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको मन्त्री पुनले बताए । सुशासन, आर्थिक समृद्धि, सामाजिक न्यायलाई वर्तमान सरकारले केन्द्रमा राखेको पनि उनले स्पष्ट पारेका छन् । ‘हामी को हौँ र जिम्मेवारी के हो भन्ने बोध गरेर अघिबढ्नुपर्ने बेला आएको छ । म अर्थमन्त्रीका रुपमा स्थायी जागिर खान आएको होइन । जति समय बस्छु, अर्थतन्त्र र समाजमा सकारात्मक आशा जाग्ने गरी काम गर्छु । आशाको सञ्चार गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो,’ अर्थमन्त्री पुनले भने ।
अर्थमन्त्री वर्षमान पुन भन्छन्– समीकरण फेरिए पनि सरकारका नीति परिवर्तन हुँदैनन्
FACEBOOK COMMENTS