काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २२.९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.७ प्रतिशतले बढेको छ ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यात ४ प्रतिशतले घटेर एक खर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो ।
यस अवधिमा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई ९ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात र आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS