काठमाडौं । संसारकै चमत्कारिक विकास गरेको दुबईमा गत १६ अप्रिलमा परेको भारी वर्षाका कारण अधिकाशं क्षेत्र डुबानमा परेका छन् । सरकारले दुबईमा खतराको सूचक रातो एलर्ट जारी गरेको छ । कैयौं पसलहरु पानीले डुबेका छन् भने सडक पार्किङमा राखिएका सवारी साधन समेत पानीमा डुबेर क्षति हुन पुगेको छ ।
दुबईका सडकमा पाँच फिटसम्म पानी जमेका कारण कतिपय साना गाडीहरु सडकमा नदेखिने गरी नै डुब्न पुगेका थिए । तर टेस्लाको विद्युतीय गाडी भने मजाले गुडेको छ ।
डुबान परेको सडकमा टेस्लाको विद्युतीय गाडी गुडेको दृश्यसहितको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बाढीमा परेको टेस्लको कारको दृश्यलाई धेरैले ‘टेस्ला बोट मोड’ मा भएको भन्दै टिप्पणी गरेका छन् । हुन त टेस्लाले अहिलेसम्म कार यतिको गहिराइसम्मका चलाउन सकिन्छ भन्ने कुनै किसिमको प्रचार गरेको छैन ।
दुबईको बाढीमा पनि गुडेको टेस्ला कारको भिडिओ एलेक्स क्रुगर नामका एक्स प्रयोगकर्ताले अपलोड गरेका थिए । सोही पोस्टमा रिप्लाई गर्दै टेस्ला मोडेल वाईका यात्रु मिस्टर स्प्रिड उक्त कारमा आफु रहेको दाबी गरेका छन् ।
एक्सको कम्युनिटी नोट्सले पनि यसलाई पुष्टि गरेको छ । उनले आफू उबरमा रहेको र सो गाडी टेस्ला भएको उल्लेख गरेका छन् । उनले अन्य रिप्लाईमा प्रतिक्रिया दिंदै गाडीको क्याबिनमा कत्ति पनि पानी नपरेको दाबी गरेका छन् ।
FACEBOOK COMMENTS