काठमाडौ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आएका अमिर अल थानी नेपालको भ्रमण पूरा गरी आज अपरान्ह स्वदेश फिर्ता भएका छन् । कतारी अमिर अल थानीको नेपाल भ्रमण पर्यटनका हिसावले महत्वपूर्ण मानिएको छ । खाडी मुलुकबाटै पहिलो पटक भएको विशिष्ट भ्रमणले नेपालको पर्यटनलाई विश्वबजारमा थप प्रवद्र्धन गर्न टेवा पुग्ने सरोकारवाला बताउँछन् ।
नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा कतारका अमिरको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । कतारबाट धेरै पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने गरेका उनको भनाइ छ । वरिष्ठ पर्यटन व्यवसायी शेर्पाले भने, “कतारी अमिर अल थानीको भ्रमणले नेपालको पर्यटनलाई धेरै सघाऊ पुग्छ । कतार विकसित मुलुक हो । मध्यपूर्वी कतार, बहराइन, कुवेतलगायत मुलुकबाट ‘हाइ इन्ड’ पर्यटक नेपाल आउने क्रम बढेको छ ।” उनले पछिल्लो समय नेपालमा ‘हाइ इन्ड टुरिस्ट’ बढ्दो क्रममा रहेकाले कतारबाट नेपाल आउने पर्यटक बढ्न सक्ने बताए ।
खासगरी कतारको राजपरिवारका सदस्यहरु नेपालमा पदयात्रा र पर्वतारोहणका लागि आउने गरेका छन् । कतारका शेख मोहम्मद बिन अब्दुल्लाह अल थानी विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो कतारी नागरिक हुन् । उनले सन् २०१३ मे २२ मा सगरमाथा र सन् २०२० नोभेम्बर ११ मा अमादब्लमको सफल आरोहण गरेका थिए । यस्तै कतारको राजपरिवारका सदस्य शेख अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरे ।
यसरी कतारी राजपरिवारका सदस्यहरु पछिल्लो समय नेपालको सगरमाथासहितका हिमाल आरोहण र चर्चित पदयात्रामा आउने गरेका छन् । कतारका शेख तथा खर्चालु पर्यटक महङ्गा र लग्जरी होटल तथा रिसोर्टमा बस्न चाहने भएकाले सोही अनुरुप नेपालममा पनि लग्जरी होटल एकपछि अर्को थपिदैछन् ।
मुस्ताङको सिन्तामणी, चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टलगायतका लग्जरी होटल कतारलगायत खाडी मुलुकका राजपरिवार सदस्य र महङ्गा पर्यटकका लागि उपयुक्त हुने होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताए । कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रका लागि राम्रो सन्देश दिएको उनले बताए ।
“कतारका अमिरको नेपाल भ्रमण आफैमा महत्वपूर्ण छ । विश्वको उदीयमान मुलुक कतारको विश्वव्यापी रुपमा प्रभाव छ । त्यसैले कतारका विशिष्ट व्यक्तिको भ्रमणबाट नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न मद्दत पुग्छ”, उनले भने ।
अध्यक्ष शाहका अनुसार कतारका अमिरको भ्रमणले विश्वलाई नेपालको सन्देश दिएको छ । कतार, युनाइटेड अरब इमिरेटस् (युएई)लगायत मुलुकबाट विगतमा पनि राजपरिवारका सदस्यहरु पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा नेपाल आएका थिए । “कतारका अमिरको भ्रमणबाट होटल व्यवसायी उत्साहित भएका छौँ”, उनले भने “यो विशिष्ट भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश दिएको छ ।”
वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले भने, “एयरलाइन्स र श्रमिक बजारको मूख्य मुलुकको प्रमुख आउनु नेपालका लागि महत्वपूर्ण कुरा हो, उहाँलाई राज्यले दिनुपर्ने सम्मान पनि दिएको छ । यसले आगामी दिनमा वाह्य पर्यटन आवगमनमा बढोत्तरी हुने विश्वास छ ।”
विश्वका सेलिब्रेटी मानिने व्यक्तिको भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरेको छ । त्यसैले कतारका अमिरलगायत विशिष्ट व्यक्तिको नेपाल भ्रमण र यहाँ भएका पर्यटनसँग सम्बन्धित विभिन्न ठूला इभेन्टले नेपाललाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्न मद्दत पुगेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए ।
उनले भने, “कतारका राजाले सोल्टीमा बसेर द्वारिकाज होटलमा ‘लञ्च’ खाएको विषयले लग्जरी सेवामा पनि नेपाल अब्बल छ भन्ने सन्देश गएको छ । यो भ्रमणले नेपाल गन्तव्यको विश्वभर प्रचार–प्रसार भएको छ । यसले नेपालको पर्यटनमा सकारात्मक उत्साह जगाएको छ ।”
बोर्डका अनुसार सन् २०२३ मा दुई सय ५५ कतारी नागरिकले नेपालको भ्रमण गरेका छन् । सन् २०२२ मा दुई सय पाँच, सन् २०२१ मा ७४, सन् २०२० मा ६३, सन् २०१९ मा दुई सय ८५ र सन् २०१८ मा दुई सय ९१ कतारी नागरिक नेपाल आएको विभागको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या बढाउन नेपालमा कतारका अमिरको भ्रमणले सहयोग पुग्ने विश्वास गरिएको छ ।
विसं २०८० कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणका कारण नेपालको पर्यटनमा सकारात्मक प्रभाव परेको थियो । त्यसअघि २०७९ सालको बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीमा भारतीय पर्यटक आउने क्रम बढ्दै गएको छ । विसं २०७५ मा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेयता ती क्षेत्रमा भारतीय पर्यटकको आगमन बढेको पाइएको छ । त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ दर्शनले पनि पछिल्लो समय धार्मिक पर्यटनमा बढोत्तरी भएको छ ।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रचण्डमान श्रेष्ठ कतारी अमिरको नेपाल भ्रमण पर्यटनलगायत आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण हुने बताए । भ्रमणबाट पर्यटनलगायत दुई राष्ट्रबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुगेको उनको भनाइ छ ।
विमानस्थल सञ्चालनमा सहयोगको अपेक्षा
कतार एयरवेज नेपालमा विदेशी पर्यटक ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विमान कम्पनीमा पर्छ । हाल यो नेपाल एयरलाइन्सपछि सबैभन्दा बढी विदेशी हवाई यात्रुलाई सेवा दिने विमान कम्पनी हो ।
कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा परिचित छ । यसले दुई सयको हाराहारी जहाजमार्फत एक सय ५० भन्दा बढी मुलुकमा उडान सेवा दिइरहेको छ । कतार एयरवेजले अहिले नेपालमा दैनिक चार उडान भर्दै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजले सन् २०२१ देखि सन् २०२३ सम्म सात लाख ३३ हजार एक सय ७७ यात्रुलाई नेपाल भित्र्याएको छ भने आठ लाख २३ हजार ६ सय ९३ यात्रुलाई नेपालबाट बाहिर जानका लागि सेवा प्रदान गरेको छ ।
कतारका अमिरको यो भ्रमणबाट भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलदेखि दोहामा हवाई सेवा सुरु हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीच आज भएको भेटवार्तामा पनि सो विषयबारे छलफल भएको थियो ।
“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछौँ,”, भेटमा प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले काठमाडौँ र दोहाबीच हवाई सेवा प्रभावकारी भएको उल्लेख गर्दै कतारका अमिरसमक्ष पोखरा र भैरहवास्थित विमानस्थलबाट पनि दोहामा हवाई सेवा सञ्चालनका लागि आग्रह गरे ।
FACEBOOK COMMENTS