काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुको मायादेवी गाउँपालिका–१, पकडीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी कपिलवस्तुमा आफ्नो चौथो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
सो एक्सटेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लबप्रसाद कुइँकेलले संयुक्त रूपमा आज गरेका छन् ।
उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक कुइँकेलले बैंकहरू विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराइने प्रतिवद्धता व्यक्त गरे । साथै पञ्जाव नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरू र स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने बताए ।
सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।
सो शाखाबाट सर्वसाधरणहरूले सुरुवाती तीन महिनाका लागि साधारण बचत खाता (न्यूनतम मौज्दात) रु. १००, चल्ती खाता (न्यूनतम मौज्दात) रु. २,५००, तलबी बचत खाता (शून्य मौज्दात) र नारी बचत खाता रु. १,२५० मा खोलन सक्ने छन् । यस्तै, डेबिट कार्ड, एसएमएस आलर्ट सेवा, मोबाइल बैंकिङ्ग सेवा पहिलो पटक निःशुल्क दिइने पनि बैंकले जनाएको छ ।
एक्सटेन्सन काउन्टर उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमान सोही गाउँपालिका–१ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनिया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरीक्षक राजीव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका प्रबन्धक शंकर घिमिरे, पकडी एक्सटेन्सन काउन्टरका इञ्चार्ज विमल केसीलगायत व्यक्तिहरूको उपस्थिति थियो ।
FACEBOOK COMMENTS