काठमाडौं, चैत ७ – नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान चैत ७ गतेको मध्यरातदेखि लागु हुने गरी स्थगित गरेको छ। कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्म स्थगित गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
चैत ७ गते र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने बताइएको छ। यसका अतिरिक्त नियमित उडान चालू रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहे भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइनेछ। यात्रुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
FACEBOOK COMMENTS