काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित वरिष्ठ कर्मचारीहरुलाई आज मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिए ।
“करदातालाई अनुचित ढङ्गले दबाब दिने होइन उचित ढङ्गले कर तिर्न प्रेरित गरौँ”, उनले भने, “राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।”
उनले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानूनले मिलेसम्म सम्बोधन गर्न पनि पनि निर्देशन दिए । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न नसकिने उनले स्पष्ट पारे । खराब प्रवृत्तिसँग राज्यले राज्यकै रुपमा प्रस्तुत हुने उनको भनाइ थियो ।
“कडाइ गर्नुपर्ने ठाउँमा कडाइ र खुकुलो गर्नुपर्नेमा खुकुलो गर्नुपर्छ”, उनले भने, “राम्रा करदातासँग असल र मैत्रीपूर्ण व्यवहार गर्नुस् । कर छल्ने गलत प्रवृत्तिसँग भने राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्छ ।” लगानी गरेर असल नियतले नाफा कमाउन चाहने उद्योगी–व्यवसायीलाई सहजीकरण गर्नु राज्यको दायित्व भएकाले त्यसमा कुनै कमी नहुन पनि उनले निर्देशन दिए ।
“असल तवरले लगानी गरेर नाफा कमाउनुस् । राज्यले त्यसका लागि सहजीकरण गर्छ । तर, जसरी हुन्छ मुनाफा आर्जन गर्नुपर्छ भन्ने प्रवृत्तिलाई पनि निरुत्साहित गरिन्छ”, मन्त्री पुनले भने । उनले राजनीति, प्रशासन र व्यवसाय सबैतिर स्वार्थ समूह रहेको चर्चा गर्दै स्वार्थ समूहबाट अलग रहन कर्मचारीलाई आग्रह गरे । उनले आफूले अमूख व्यावसायिक घरानाको पक्ष वा विपक्षमा काम गर्न कहिल्यै संकेतसम्म नरहेको भन्दै सबैलाई काम गर्ने वातावरण दिएको उल्लेख गरे । तर, सेवाप्रवाहमा ढिलासुस्ती र अनावश्यक हैरानी दिने काम भए स्वीकार्य नहुने बताउनुभयो । सेवा प्रवाह पारदर्शी, वैज्ञानिक र छिटोछरितो बनाउन मन्त्री पुनको निर्देशन थियो ।
“तपाईंहरु सबैलाई म भन्न चाहन्छु कि सेवाग्राहीका काममा ढिलासुस्ती नगरौँ”, उनले भने, “आफू पनि सेवाग्राही भएर एकपटक सोच्नुस कि सेवाप्रवाहमा ढिला हुँदा कस्तो महसुस गर्नुहुन्छ ।”
FACEBOOK COMMENTS