काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले ऋणको ब्याजमा छुट दिने आकर्षक योजना सार्वजनिक गरेको छ ।
योजना अनुसार २०८० चैत मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत आकर्षक छुट प्रदान गर्ने बैंकले बताएको छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।
उनका अनुसार यो असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न एनआईसी एशिया बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नाका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवम् दिगो सबलीकरणमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको उनले बताए ।
FACEBOOK COMMENTS