काठमाडौं । एकीकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रूपमा सुरू गरेको छ ।
काठमाडौं महानगरपालिका (कामनपा), शहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो । काठमाडौं महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरूलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।
परियोजनामा सहभागी विद्यार्थीहरूलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ्ग, पुनः प्रयोग, अप साइकलिङ्ग, र फोहोरको वर्गीकरण जस्ता विविध विषयहरूको ज्ञान प्रदान गरिनेछ । उनीहरूलाई वातावरणीय समस्याहरू, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मूख्य उद्देश्य हो ।
कार्यशालामा एकीकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक, नवीन विकास महर्जनले बाबा परियोजनाबारे जानकारी दिए । परियोजनाकी संयोजक, समीक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाहरूको बारेमा चर्चा गरिन् ।
यो परियोजनालाई कामनपा वडा नं २२ मा रहेको हिमालय मावि र कामनपा वडा नं १२ मा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।
शहरी योजना आयोग (शिक्षा) का श्री शैलेन्द्र झाले आफ्नो विचार व्यक्त गरे । ‘पहिले बाबा कार्यक्रमलाई कामनपाको वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात सीएमयूद्वारा परिचालन र कार्यान्वयन गरिएको थियो । बाबा कार्यक्रमलाई पुनर्जीवित र एकीकृत गर्ने उद्देश्यले एकीकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेड बिच भएको सहकार्यबाट हामी निकै खुसी छौँ । यस सहकार्यले महानगरको ‘बुक फ्री फ्राइडे’ पहलको समर्थन गर्ने कुरा पनि निकै प्रशंशायोग्य छ,’ उनले भने ।
FACEBOOK COMMENTS