काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय साँखुले वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरूका लागि ६ दिने जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न गरेको छ ।
ग्राहक सदस्यलाई उद्यमशील बनाई उनीहरूको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले काठमाडौंको साँखुमा ३० जना र जोरपाटीमा ३० जना ग्राहक सदस्य गरी जम्मा ६० जना सदस्यको सहभागितामा तालिम सम्पन्न भएको थियो ।
तालिममा सदस्यहरूलाई सञ्चार गर्ने प्रभावकारी उपायहरू, निर्णय लिन सक्ने क्षमताको विकास, समय तथा तनाव व्यवस्थापन, व्यवसायलाई व्यवस्थित तरिकाले अगाडि लैजान अपनाउनुपर्ने रणनीतिजस्ता विषयहरूमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रममा शंखरापुर नगरपालिकाकी उपमेयर समिता श्रेष्ठले तालिम व्यवसाय सञ्चालनमा अतिउपयोगी भएकाले आफूले तालिमबाट सिकेका विषयवस्तुहरूलाई अनिवार्य व्यवहारमा उर्तान आग्रह गरिन् ।
त्यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ६ की वडा सदस्य मञ्जु पुडासैनीले लघुवित्तले गरिब समाजमा सामूहिक दायित्वका आधारमा बिनाधितो कर्जा प्रवाह गरेका कारण महिलाहरूको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठूलो मद्दत गरेको बताइन् ।
तालिम लघुवित्तको शाखा कार्यालय साँखुका कार्यालय प्रमुख झविलाल लामिछानेको संयोजनमा सञ्चालन भएको थियो ।
तालिममा केन्द्रीय कार्यालयका नायब महाप्रबन्धक गोविन्द चापागाईंले तालिमपश्चात सिकेका कुराहरूलाई प्रभावकारी रूपमा व्यवहारमा उतारेमा पुनः अन्य तालिमहरू पनि सञ्चालनमा ल्याई ग्राहकलाई लाभान्वित हुने किसिमका सेवा प्रवाह गर्दै जाने बताए ।
तालिमका सहभागीहरूले तालिम अत्यन्तै व्यावहारिक भएकाले आफूले सिकेका कुराहरू सजिलै आफ्नो दैनिकीमा लागू गर्न सहज हुने बताए ।
तालिममा केन्द्रीय कार्यालय, इलाका कार्यालय तथा शाखा कार्यालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । तालिम बीपीडब्ल्यू नेपालका प्रशिक्षकहरूले दिएका थिए ।
FACEBOOK COMMENTS