काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि आज पुगेका मन्त्री दाहालले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल्स क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्याइरहेको बताउँदै उनले नागरिकलाई आधुनिक, सुलभ र सुरक्षित अटोमोबाइल्स सेवा पुर्याउन मन्त्रालय नाडासँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
अटोमोबाइल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यावसायले नेपालमा स्वरोजगारी सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । यही भदौ ११ देखि १६ गतेसम्म सञ्चालन हुने अटो शो अवलोकनका लागि मन्त्री दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत मन्त्रालयका अधिकारी सहभागी भएका थिए ।
एसोसिएशनका अध्यक्ष करण चौधरीले अटो शो तथा नेपालमा अटोमोबाइल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराएका थिए ।
FACEBOOK COMMENTS