कालिकोट । नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थल परीक्षण उडान भएको छ महिना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
गत आर्थिक वर्षको फागुन १४ गते विमानस्थलको औपचारिक उद्घाटन गरिएको भए पनि हालसम्म नियमित उडान हुन नसकेको हो । विमानस्थल सञ्चालन नहुँदा स्थानीय निरास बनेका छन् ।
३८ वर्षपछि निर्माण सम्पन्न भएको विमानस्थलमा नियमित उडान नहुँदा आश्चर्य लागेको स्थानीय राजकुमार विष्टले बताए । “औपचारिक उद्घाटन भएको छ महिना हुँदा पनि त्यो सपना पूरा भएन, पूरा हुन अझै कति समय लाग्ने हो”, उनले भने, “सडक पूर्वाधार राम्रो नभएकाले विमानस्थल सञ्चालन गर्नु जरुरी छ ।”
उद्घाटनका क्रममा नागरिक उड्डयन प्राधिकरणले सातामा एकपटक सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने प्रतिबद्धता जनाएको थियो । तर, हालसम्म प्राधिकरणले नै विमानस्थलमा उडान भर्न अनुमति नदिएको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले बताए ।
“राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग जहाज अभाव हुँदा उडान हुन सकेको छैन”, उनले भने, “नेपाल वायुसेवा निगमले सातामा एकपटक उडान गर्ने सहमति भएको थियो ।”
निगमसँग भएका दुईमध्ये एक जहाज ग्राउन्डेड भएपछि नियमित उडान हुन नसकेको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए ।
“निगमले तोकेको भाडादरमा निजी कम्पनीले उडान भर्न नमानेका कारण नियमित उडान हुन नसकेको हो”, उनले भने, “निजी क्षेत्रका सीता, तारा र अन्य एयरलाइन्ससँग कुरा भइरहेको छ ।”
नेपाल वायु सेवा निगमले सुर्खेत, नेपालगञ्ज र धनगढीबाट सुनथराली विमानस्थलमा उडानका लागि भाडादर कायम गरिसकेको छ ।
नेपालगञ्ज–कालिकोटका लागि प्रति यात्रु पाँच हजार पाँच सय ५१, सुर्खेत–कालिकोट तीन हजार नौ सय एक र धनगढी–कालिकोट पाँच हजार दुई सय ४९ भाडा कायम गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS