काठमाडौं । अबदेखि सबै सरकारी कार्यालयमा शेयर कारोबारमा प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) नचल्ने भएको छ ।
सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर शेयर कारोबारमा व्यस्त हुने गरेको पाइएपछि सरकारले कडाइ गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।
टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ ।
यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर शेयर कारोबार गर्ने गरेको उजुरीपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुगमन गरेको थियो ।
अनुगमनमा पनि उजुरीमा भनिएझैं पाइएपछि यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो ।
FACEBOOK COMMENTS