खलङ्गा (दार्चुला) । दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
शैल्यशिखर नगरपालिका-६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीप दुर्घटना भएको हो । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर-९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका-५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो ।
मृतक विष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक तथा लेखक सोही क्याम्पसकी लेखापाल हुन् । यस्तै दुर्घटनामा मृत्यु भएका वीरेन्द्र र शान्ति श्रीमान श्रीमती हुन् । वीरेन्द्र शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत थिए ।
दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी-५ का उत्तम रोकाया, शैल्यशिखर-५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका-८ निवासी जीप चालक सुनिल जोशी घाइते भएका छन् ।
यसैबीच, उक्त दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा कैलालीको धनगढी लगिएको छ ।
हेलिकोप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ का सुनिल जोशी, शैल्यशिखर-५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका-५ का उत्तम रोकाया रहेका छन् । उनीहरूलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।
दुर्घटनाका अन्य घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS