काठमाडौं– तेलुगु सुपरस्टार अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा–२’ आगामी डिसेम्बर ५ बाट प्रदर्शनमा आउँदैछ। यो बहुप्रतीक्षित फिल्मलाई दर्शकहरूबीच निकै ठूलो चर्चा छ।
केही दिनअगाडि सार्वजनिक ट्रेलरले नै यो फिल्मप्रतिको उत्साह झल्काएको छ। ट्रेलरले दर्शकको मन जित्दै सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। फिल्म प्रदर्शनको संघारमा यसको सेन्सर प्रक्रिया पनि पूरा भइसकेको छ। भारतीय मिडिया हिन्दुस्तान टाइम्सका अनुसार सेन्सर बोर्डले फिल्मलाई ‘यूरए’ प्रमाणपत्र दिएको छ।
हिन्दुस्तान टाइम्सको दाबीअनुसार ‘पुष्पा–२’ को अवधि २०० मिनेट अर्थात् ३ घण्टा २० मिनेटको रहेको छ। यो अवधि रणवीर कपूर अभिनीत आगामी फिल्म ‘एनिमल’ भन्दा १ मिनेट मात्र कम हो।
‘एनिमल’ पछिल्लो १५ वर्षमा बनेको सबैभन्दा लामो फिल्म हो। त्यसैले ‘पुष्पा–२’ ले १५ वर्षयता बनेका फिल्महरूमध्ये दोस्रो सबैभन्दा लामो फिल्मको उपाधि पाउन लागेको हो।
‘पुष्पा–२’ अल्लु अर्जुनको ब्लकबस्टर फिल्म ‘पुष्पा’ को दोस्रो श्रृंखला हो। प्रदर्शन अगावै यस फिल्मले ९ सय करोड रुपैयाँ कमाइसकेको बताइएको छ। फिल्ममा अल्लु अर्जुनसँगै मुख्य भूमिकामा अभिनेत्री रश्मिका मन्दान्ना देखिनेछिन्।
FACEBOOK COMMENTS