काठमाडौं । । काठमाडौँ महानगरपालिकाले सवारी प्रदुषण जाँच गरेका १२० वटा सवारी साधनमध्ये ६९ वटा फेल भएका छन् ।
यीमध्ये डिजेलबाट चल्ने ६३ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी साधन छन् । जाँचका क्रममा १ सय वटा डिजेलबाट चल्ने र २० वटा पेट्रोलबाट चल्ने सवारी साधन परीक्षण गरिएको थियो ।
आज टेकुमा चेकजाँच गरिएका ४० वटा सवारी साधनमध्ये ३३ वटा फेल भएका छन् । माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० वटा प्रदुषण मापदण्ड बाहिरका पाइए । माघ ३ गते पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन भेटिए ।
माघ २ गते जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल थिए । पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ । यससँगै अर्को पटकको चेकजाँचमा गल्ती दोहारिए जरिवाना गर्न सचेत गराइएको वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिए ।
वायु प्रदुषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदुषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।
सडकमा गुड्ने अन्य सवारी साधनसँग आफैँले प्रयोग गर्ने सवारी साधनको गुणस्तरका लागि प्रशासन विभागले मातहतका विभाग, सचिवालय, आयोजना, एकाइ र वडा कार्यालयलाई माघ ४ गते परिपत्र गर्दै अन्तर्गत सञ्चालनमा रहेका सवारी साधनको प्रदुषण जाँचपास गरेर हरियो स्टिकर राख्न तथा सवारी साधन दर्ता प्रमाण पत्र साथमै राख्न निर्देश गरेको छ ।
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ ।
मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्गे्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।
यो मापदण्ड २ पाङ्ग्रेबाहेकका अन्य सवारी साधनका हकमा २०५४ साल माघ १ गतेदेखि र २ पाङ्ग्रे सवारी साधनका हकमा २०५५ साल साउन १ गतेदेखि लागु भएको हो । चेकजाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।
FACEBOOK COMMENTS