काठमाडौं । नेपालको प्रिमियम इलेक्ट्रिक सवारी बजारमा नयाँ प्रतिस्पर्धा थपिएको छ । एमजी ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजी एस सिक्स ईभी’ नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उक्त मोडल सार्वजनिक गरेको हो ।
कम्पनीले एमजी एस फाइभको उत्तराधिकारीका रूपमा ल्याएको यो मिड–साइज पारिवारिक एसयूभीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार प्रिमियम डिजाइन, आधुनिक प्रविधि तथा उच्च रेन्जका कारण यो मोडल नेपाली बजारमा आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।
नयाँ एमजी एस सिक्स ईभीमा ७७ किलोवाट आवर क्षमताको अल्ट्रा–थिन ब्याट्री र १८० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । कम्पनीका अनुसार एकपटक फुल चार्ज गर्दा गाडीले करिब ५३० किलोमिटर रेन्ज प्रदान गर्नेछ । साथै १५० किलोवाटको अल्ट्रा–फास्ट चार्जरमार्फत ब्याट्री १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३८ मिनेट लाग्ने बताइएको छ ।
गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.१ सेकेन्डमै लिन सक्ने क्षमता राख्छ भने १९५ एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध गराइएको छ । यसमा नर्मल, स्पोर्ट, इको, स्नो र कस्टम गरी पाँचवटा ड्राइभ मोड समावेश गरिएको छ ।

इन्टेरियरतर्फ १२.८ इन्चको एचडी टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले तथा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी उपलब्ध छ । सुरक्षाका लागि ७ वटा एयरब्याग, एडास (एडीएएस) प्रणाली, एक्टिभ इमरजेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल तथा ब्लाइन्ड स्पट डिटेक्सन जस्ता फिचर समावेश गरिएको कम्पनीले जनाएको छ ।

एमजी पाइलट कस्टम फिचरमार्फत ड्राइभरले आफ्नो आवश्यकता अनुसार ड्राइभिङ सेटिङ अनुकूलन गर्न सक्ने कम्पनीको दाबी छ ।

