चितवन । रवि लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरूद्ध साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पूरक मुद्दा चितवन जिल्ला अदालतमा पेस गरिएको छ। यस मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, छविलाल जोशी र अन्य १३ जनालाई प्रतिवादी बनाइएको छ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले यो मुद्दा दर्ता गरेको हो। सहारा सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा प्रहरीले गरेको पूरक अनुसन्धान प्रतिवेदनको आधारमा यो मुद्दा दायर गरिएको हो। जिल्ला न्यायाधिवक्ता शान्तिराज लुइँटेलले बताएअनुसार यस मुद्दामा ३२ जना प्रतिवादीहरूमध्ये १२ जनालाई ठगीसँगै संगठित अपराध कसुरमा पनि मुद्दा चलाउने सिफारिस गरिएको छ।
साहारा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रूपैयाँ, नेचर हर्ब्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७ रूपैयाँ, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ रूपैयाँ, स्प्रिङ उड रियल स्टेटमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रूपैयाँ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ रूपैयाँ गएको देखिएको छ। यी कम्पनीहरूमा लगानी गरिएको कुल रकम ४३ करोड १४ लाख ४९ हजार ९२७ रूपैयाँ रहेको छ।
सरकारी वकिल कार्यालयले यी कम्पनीहरूमा लगानी गरिएको रकम ऋण ४३ करोड १४ लाख ४९ हजार ९२८ रूपैयाँ बिगो दावी गरेको छ। साहारा सहकारीका कुल ६,३३४ बचतकर्ताहरूमध्ये ४४६ जनाले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले उजुरीको आधारमा अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको हो।
अनुसन्धान प्रतिवेदनअनुसार साहारा सहकारीको कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ रूपैयाँ रहेको छ। सहकारीले ११८ जना बचतकर्तामा ७ करोड २८ लाख १६ हजार ३१२ रूपैयाँ ऋण लगानी गरेको थियो। सहकारीको कुल दायित्व पुँजी ६५ करोड १६ लाख ७१ हजार ७१२ रूपैयाँ देखिएको छ भने कर्जा लगानी गरी फिर्ता लिन बाँकी रकम ५६ करोड २२ लाख ५० हजार ११५ रूपैयाँ रहेको छ।
यस मुद्दामा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। साथै आर्थिक लेनदेन देखिएका ६ वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।
FACEBOOK COMMENTS