काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ रणनीतिका साथ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ। केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँलाई वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा लगानी गर्ने योजना बनाएको हो।
राष्ट्र बैंकले यो रकममध्ये ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकहरुमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरुमा र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा लगानी गर्ने भएको छ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरिएको छ।
यो लगानीको अवधि सन् २०२५ मार्च १२ देखि सन् २०२६ मार्च १२ सम्म ३६६ दिनका लागि तोकिएको छ। ब्याजदर प्रस्ताव पेश गर्ने अन्तिम मिति फागुन २० गतेसम्म रहेको राष्ट्र बैंकले जनाएको छ।
लगानीका लागि केन्द्रीय बैंकले कडा सर्तहरु पनि तय गरेको छ। जसअनुसार, बैंक वा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको, तरल सम्पत्ति खुद निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको र रियल स्टेट कर्जा तोकिएको मापदण्डभन्दा कम नभएको हुनुपर्नेछ।
FACEBOOK COMMENTS