महोत्तरी । जिल्लाको गौशाला नगरपालिका वडा नं १ रामनगरमा आईएमई ग्रुपको लगानीमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा ताम्रपत्र अनावरण गरी औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनपछि प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमा रहेको वातावरणमैत्री क्यालसियम कार्बोनेट उत्पादनको अवलोकन गरेका छन् ।
२ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन र छपाइका लागि उपयुक्त गुणस्तरीय कागज उत्पादन सुरु गरेको छ । पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन थालिएको हो । शैक्षिक, प्रशासनिक र अन्य क्षेत्रमा उच्च माग रहेको कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नुका साथै जनक शिक्षा सामग्री केन्द्रजस्ता संस्थालाई स्वदेशी उत्पादन प्रयोगको ढोका खोल्नेछ ।
उद्घाटन समारोहमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो उद्योगको सञ्चालनलाई नेपालको औद्योगिक यात्रामा नवजागरणको संज्ञा दिए । उनले यो कदम मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि र दीगो औद्योगिक विकासप्रतिको प्रतिबद्धता भएको बताए । उद्योगले आयात प्रतिस्थापन गरी रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ ।
अध्यक्ष ढकालका अनुसार यो उद्योगले ३०० भन्दा बढी प्रत्यक्ष र हजारौं अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । जसमा इन्जिनियर, प्राविधिक, श्रमिक, आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसान समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलालाई रोजगारी प्रदान गरेको छ ।
उनले स्वदेशी उद्योग प्रवर्द्धन र आत्मनिर्भरताको सरकारी लक्ष्यमा निजी क्षेत्रको यो प्रयास ‘होस्टेमा हैंसे’ को उदाहरण बनेको बताए । साथै, सरकारले लगानीमैत्री वातावरण बनाउन ल्याएका कानुनहरू सहयोगी हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष ढकालले पाथीभरा केबलकार परियोजनामा देखिएको अवरोधले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने चिन्ता व्यक्त गरे । स्थानीयको आग्रहमा सुरु भएको उक्त परियोजनामा बाहिरबाट अवरोध सिर्जना भएको उल्लेख गर्दै यस्ता प्रवृत्तिले लगानीकर्ताको मनोबल घटाउने बताए ।
नेपालमा लगानीको सकारात्मक सन्देश प्रवाह गर्न यो उद्योग महत्त्वपूर्ण हुने उनको भनाइ छ । विदेशी सहायता घट्दै गएको अवस्थामा स्वदेशी उद्यम र रोजगारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले सबै पक्षलाई पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि एकजुट हुन आह्वानसमेत गरे ।
यो उद्योगले नेपालको कागज आयात निर्भरता घटाउने र औद्योगिक स्तरमा कागज उत्पादनको नयाँ अध्याय सुरु गरेको छ । आईएमई ग्रुपले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी, नागरिकलाई लाभ पुर्याउने व्यवसाय र दीर्घकालीन खाँचो पूर्ति गर्ने उद्योगमा जोड दिएको अध्यक्ष ढकालले बताए ।
यो उद्योगले नेपालको औद्योगिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भरताको यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS