काठमाडौं । राप्रपा नेपालले आइतबार काठमाडौंमा भएको जनप्रदर्शनले मुलुकमा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको सुस्पष्ट सङ्केत देखिएको बताएको छ ।
राप्रपा नेपालको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । देशलाई सङ्कटबाट मुक्त तुल्याउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेको भन्दै राप्रपाले उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुने सुस्पष्ट संकेत गरेको राप्रपाको ठहर छ ।
‘जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढङ्गबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरुको काँधमा आएको छ । जनताले यथास्थितिमा परिवर्तन खोजेका छन् । हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सृजना जनताको चाहाना हो,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्न नहुने राप्रपाको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताको चाहाना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर जानेछ तथा अप्रिय दुर्घटना हुनेछ । यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरुलाई राप्रपा नेपाल आग्रह गर्दछ ।’
यस्तै, जनताले चाहेको परिवर्तनको चाहनालाई संस्थागत गर्न तथा हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको पक्षमा अहिले देखा परेको जनउत्साहलाई निष्कर्षमा पुर्याउन सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू यथासम्भव चाँडो एकतावद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न पनि राप्रपा नेपालले आह्वान गरेको छ । सबै राष्ट्रवादी एकजुट हुने हो भने जनताको साथ र समर्थन रहने उसको भनाइ छ । ‘सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्न समेत सम्बद्ध सबैमा राप्रपा नेपाल अपिल गर्दछ । अब केही समयका लागि एक्ला एक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्न समेत हामी अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS