काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने उदाहरण सौन्दर्य व्यवसायी एवम् वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य समेत रहेकी व्यवसायी कमला श्रेष्ठद्वारा लिखित आत्मकथा ‘सौन्दर्य–क्रान्ति’ विमोचन गर्दै अध्यक्ष ढकालले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि श्रेष्ठको भूमिका महत्वपूर्ण रहेको र अठोटका साथ अघि बढ्दा सफलता प्राप्त गरिने बताएका हुन् ।
‘अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रूपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिन्छ,’ अध्यक्ष ढकालले भने, ‘आफ्नो व्यवसायको माध्यमबाट हजारौँलाई सिप हस्तान्तरण गर्दै रोजगारी सृजना गर्नु आफैंमा चुनौतीपूर्ण र महत्वपूर्ण कार्य हो ।’
उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भता बढाउनाका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दैै अध्यक्ष ढकालले कमला श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको चर्चा गरे । ‘हाम्रो समाज श्रृङ्गार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरूको लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो,’ अध्यक्ष ढकालले भने, ‘सौन्दर्यकलालाई पेसा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अङ्गमा रूपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठको ठूलो योगदान रहेको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए । समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको उनको भनाइ छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS