काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको सांग्रिला क्विज सम्पन्न भएको छ ।
काठमाडौंमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो भएका छन् ।
पहिलो हुने सुवेदी र श्रेष्ठले जनही साठी हजार तथा दोस्रो हुने चौधरी र बीसीले जनही चालीस हजार रूपैयाँ पुरस्कार पाएका छन्। कार्यक्रममा विजेतासहित कन्ट्रि राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।
‘कन्ट्रि राउन्ड’मा इटहरी, काठमाडौँ, नेपालगञ्ज र पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धि रहेका थिए । ‘कन्ट्रि राउन्ड’ अघि सञ्चालन गरिएका ‘ब्रान्च राउन्ड’ र ‘क्लस्टर राउन्ड’मा उत्कृष्ट भएकाहरू कन्ट्रि राउन्डका लागि छनोट भएका थिए । ब्रान्च राउन्डमा ४ सय ७६ जना र क्लस्टर राउन्डमा १९६ जनाले प्रतिस्पर्धा गरेका थिए ।
उक्त कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गरेका कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो । ग्राहकहरुको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS