काठमाडौं । नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत एभरेष्ट इन्जिनियरिङ कलेजमा दुईदिने हेकरास तालिम प्रारम्भ भएको छ।
विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) को आह्वानमा हरेक वर्ष मे महिनाको तेस्रो हप्तामा मनाइने यो सप्ताह यस वर्ष नेपालमा चैत्र ४ देखि १० गतेसम्म आयोजना गरिएको हो।
नेपाल सरकारको जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। सप्ताहको पहिलो दिन जल तथा मौसमविद् समाज–नेपाल (सोहम) ले एभरेष्ट इन्जिनियरिङ कलेज, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान(इमी), द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा बाढी भविष्यवाणी र जल उत्पन्न विपद्बाट समुदायलाई जोगाउन उपयोगी हेकरास सफ्टवेयरको तालिम आयोजना गरेको छ।
तालिममा सरकारी निकाय, गैरसरकारी संस्था, निजी कम्पनी र विश्वविद्यालयका विद्यार्थी गरी २८ जना प्रशिक्षार्थी सहभागी छन्। कार्यक्रमको उद्घाटन एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य विरोध रिजाल र सहायक प्राचार्य राजन लामाको उपस्थितिमा भएको थियो।
जल तथा मौसमविद् समाज–नेपालका अध्यक्ष प्रा .डा . हरिकृष्ण श्रेष्ठले हेकरास सफ्टवेयर विश्वव्यापी रूपमा प्रयोग हुने भएकाले यस तालिमबाट प्राप्त ज्ञान र सीपले नेपालका नदी प्रणालीसम्बन्धी अनुसन्धानमा सहयोग पुग्ने र विश्वका कुनै पनि देशमा सेवा प्रदान गर्न सक्षम जनशक्ति तयार हुने बताए। प्रशिक्षार्थीहरूले यो तालिमबाट प्राप्त सीपलाई आफ्नो शोधकार्य र थेसिस लेखनमा प्रयोग गर्न सकिने भन्दै उत्साह व्यक्त गरेका छन्।

कार्यक्रमका मुख्य प्रशिक्षक इन्जिनियर विनय शाक्यले तालिमबाट सिकेका कुराको निरन्तर अभ्यासले प्रशिक्षार्थीहरूको क्षमता अझ बढ्ने विश्वास व्यक्त गरे। यो तालिमले जल व्यवस्थापन र विपद् रोकथाममा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
