काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।
१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’ को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा देखापरेका चुनौतीहरू नियन्त्रण गर्नुपर्ने पनि बताए ।
‘श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरू हुन्, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घरदैलोमा पुर्याउनका लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुुर्याउन श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु,’ प्रधानमन्त्री ओलीले भने ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहम् भूमिका रहने बताए ।
सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढिसकेको जनाए ।
श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो । जसबाट श्रम तथा रोजगार सम्बद्ध विषयहरूको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाहरुको नियमन, रोजगार सेवाको समतामूलक पहुँच, योग्यता विस्तार मार्फत सङ्घीयताको लाभहरू जनस्तरसम्म पुुर्याउन सहयोग पुग्नेछ ।
श्रमिक, रोजगारदाता र रोजगार सेवा वीचको दूरी हटाई फेसलेस, प्रोसेसलेस र म्यानुुपुलेसनलेस बनाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकास मार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई यसले नियमन गर्दै राष्ट्रलाई सम्बृद्धितर्फ लैजान सहयोग गर्नेछ ।
सरकारले आगामी दशकलाई आन्तरिक प्रवर्द्धन दशक बनाउन रणनीतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी प्रधानमन्त्री ओलीले आह्वान गरे ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS