काठमाडौं । एसियन पेन्ट्सले ‘१२औँ क्यालिडोस्कोप : नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८१–८२’ को पुरस्कार वितरण गरेको छ ।
काठमाडौंस्थित होटेल मेरियटमा अस्ति बुधबार आयोजित समारोहबीच प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको हो ।
उक्त प्रतियोगिता नयाँ पुस्ताका प्रतिभाशाली डिजाइनरहरूको उत्साहवर्द्धन र उनीहरूलाई व्यावसायिक अभ्यासतर्फ अग्रसर गराउने उद्देश्यका साथ आयोजना गरिएको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान डङ्गोल विशिष्ट अतिथि थिए ।
सो अवसरमा देशभरका प्रतिष्ठित आर्किटेक्चरल कलेजका वरिष्ठ प्राध्यापकहरू, पूर्वविजेता, प्रतियोगितामा सहभागी विद्यार्थीहरू तथा ख्यातिप्राप्त आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको समेत उपस्थिति थियो ।
क्यालिडोस्कोप प्रतियोगिताको मूल उद्देश्य शैक्षिक संस्था र उद्योगबीच सहकार्य गर्दै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सृजनशीलता र पेसागत तयारीमा सशक्त बनाउनु हो । प्रतियोगिताले विद्यार्थीहरूलाई वास्तविक परियोजनाहरूमा काम गर्ने अवसर प्रदान गर्दै उनीहरूको क्षमता उजागर गर्न मद्दत पुर्याउँछ ।
यस वर्षको प्रत्यक्ष परियोजना कीर्तिपुर नगरपालिकाको सहकार्यमा विकास गरिएको १२,८८० वर्गमिटर क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय फुटसल स्टेडियमको अवधारणात्मक डिजाइन रहेको थियो । उक्त परियोजनामा सहभागीहरूले नवीनतम डिजाइन सिद्धान्तहरू प्रयोग गरी स्थायित्व, कार्यक्षमता र स्थानीय सन्दर्भको सम्मान गर्ने चुनौती सामना गरे ।
एसियन पेन्ट्सले शैक्षिक र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहित गर्दै युवाहरूलाई सिर्जनात्मक चुनौतीहरूमार्फत सशक्त बनाउन निरन्तर प्रयत्न गर्दै आएको छ । क्यालिडोस्कोपको १२औं संस्करणले यसलाई पुनः एक पटक युवा प्रतिभालाई सम्मान गर्ने तथा उद्योगसँग जोड्ने एक सफल प्रयासको रूपमा चिनाएको छ ।
FACEBOOK COMMENTS