काठमाडौं । विशेषगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा पछिल्लो समय प्रतिनिधि सभा प्रभावित बन्दै आएको छ ।
भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै माओवादीलगायत प्रतिपक्षी दलहरूले लामो समयदेखि संसद अवरुद्ध पार्दै आएका छन् ।
तर, कानुन व्यवसायीसमेत रहेका नेकपा माओवादी केन्द्रकै प्रभावशाली नेता रामनारायण बिडारीले भने माओवादीलगायत प्रतिपक्ष दलहरूको पछिल्लो अडानमा कुनै तुक नभएको तर्क गरेका छन् । पार्टीका वरिष्ठ नेतासमेत रहेका उनले गृहमन्त्री रमेश लेखकविरुद्ध अहिलेसम्म कुनै अनुसन्धान अधिकृतसमक्ष उजुरी नपरेकाले राजीनामा दिन नपर्ने स्पष्ट पारेका छन् ।
यद्यपि, नैतिकताको आधारमा राजीनामा दिने वा नदिने भन्ने कुरा स्वयम् गृहमन्त्री लेखकमा निर्भर हुने उनको भनाइ छ । उनले संसद्को गतिरोधको विषयमा पनि गम्भीर असहमति जनाएका छन् । ‘नैतिकता भनेको व्यक्तिगत कुरा हो । यो बाध्यता होइन । नैतिकताको कुरा गरेर संसद्लाई बन्धक बनाउन पाइँदैन्,’ उनले भने ।
भिजिट भिषा प्रकरण आफैंमा गम्भीर अपराध भएको टिप्पणी गर्दै उनले भने,‘मानव तस्करी ठूलो अपराध हो । यसले राज्यलाई कालो सूचिमा राख्छ ।’
आफ्नै पार्टीका वरिष्ठ नेताले यस्तो अभिव्यक्ति दिएपछि बजेटमाथिको छलफलसमेत रोकेर संसद अवरुद्ध पार्दै आएको माओवादी केन्द्र स्वयम् नैतिक सङ्कटमा परेको देखिन्छ । यसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिशोधको राजनीति र सत्ताको भोकले ग्रसित छन् भन्ने तथ्यलाई पनि पुष्टि गरेको छ ।
FACEBOOK COMMENTS