काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनचाँदी व्यवसायीहरूलाई आन्दोलनमा नजान आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न आज सिंहदरबार पुगेका व्यवसायीहरूलाई समस्याको समाधान संवादबाट खोज्नुपर्ने भन्दै आन्दोलनको बाटो नपनाउन आग्रह गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर नलाग्ने वस्तुको सूचीबाट हटाउनाका साथै सुनमा विलासिता कर थप गरेपछि आन्दोलनको मुढमा रहेका व्यवसायीलाई प्रधानमन्त्री ओलीले थुमथुम्याउे प्रयास गरेका छन् । उनले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाएका छन् ।
बजेटले गरेको व्यवस्थाबाट हिरा तथा बहुमूल्य पत्थरको मूल्य १८ प्रतिशतसम्म बढ्न जाने नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारको भनाइ छ । त्यही विषयबारे ध्यानाकर्षण गराउन आज सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिहरू प्रधानमन्त्री कार्यालय पुगेको जानकारी अध्यक्ष ताम्राकारले दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभुषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त करको व्यवस्था लागू गर्दा आफूहरुको व्यवसाय धरासयी हुने भएकाले पुन: विचार गर्न माग गरेका छन् ।
ती संस्थाहरुले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
यो पनि पढ्नुहोस्–
हिरा तथा बहुमूल्य पत्थर र सुनको मूल्य १८ प्रतिशतले बढ्दै, सरकारको राजस्वमा नाफा हुन्छ कि घाटा ?
FACEBOOK COMMENTS