काठमाडौं । जापानले २०१७ मा ९ जनाको हत्या गर्ने ताकाहिरो शिराइशीलाई शुक्रबार फाँसी दिएको छ ।
जापानमा मृत्युदण्डको सजाय सुनाइएको यो पछिल्लो ३ वर्षमा पहिलो पटक हो ।
३४ वर्षीय शिराइशीले ट्विटरमा मानिसहरूलाई सम्पर्क गरेर मार्ने गरेको पुष्टि भएको थियो । त्यसैले उनलाई ‘ट्विटर किलर’ भनिएको हाे ।
रिपोर्टका अनुसार शिराइशीले ट्विटरमा मर्न चाहने मानिसहरूलाई सम्पर्क गर्थे । त्यसपछि, उनी मद्दतको बहानामा टोकियो नजिकैको आफ्नो अपार्टमेन्टमा बोलाउँथे । त्यसपछि उनले उनीहरूको घाँटी थिचेर हत्या गर्थे । उनीहरूको शरीरलाई टुक्रा-टुक्रा पार्थे, त्यसपछि आफ्नो सानो फ्ल्याटमा रहेको कूलर बक्समा लुकाइदिन्थे ।
उनका ९ जना पीडितमध्ये ८ जना महिला थिए, जसको उमेर १५ देखि २६ वर्षका बीचमा थियो। जापानका न्यायमन्त्री केइसुके सुजुकीले धेरै सोचविचार गरेर फाँसीको स्वीकृति दिएको बताए । उनले भने, शिराइशीको अपराधले सम्पूर्ण समाजमा आतंक फैलाएको थियो ।’
जी ७ देशहरूमध्ये जापान र अमेरिका मात्र मृत्युदण्ड कायम राख्ने देशहरू हुन् । जापानमा मृत्युदण्ड झुण्ड्याएर दिइन्छ र कैदीहरूलाई यसको बारेमा केही घण्टा अगाडि मात्र जानकारी गराइन्छ । मानव अधिकार संस्थाहरूले यसको आलोचना गर्ने गरेका छन् ।
न्यायमन्त्री सुजुकीले भने, जबसम्म यस्ता खतरनाक अपराधहरू भइरहन्छ, मृत्युदण्ड खारेज गर्नु उचित हुने छैन ।
हाल जापानमा १०५ कैदीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ। २०२४ मा जापानी सरकारले गरेको सर्वेक्षणमा, ८३ प्रतिशत मानिसहरूले मृत्युदण्डलाई ‘आवश्यक’ भनेका थिए ।
२०२२ मा, तोमोहिरो काटोलाई फाँसी दिइएको थियो, जसले २००८ मा टोकियोको अकिहाबारा क्षेत्रमा ट्रकले भीडमाथि आक्रमण गरेर ७ जनाको हत्या गरेका थिए । २०१८ मा, ओम शिनरिक्यो सम्प्रदायका नेता शोको असाहारा र उनका १२ अनुयायीहरूलाई मृत्युदण्ड दिइएको थियो । यो सम्प्रदायले १९९५ मा टोकियो सबवेमा सारिन ग्यास आक्रमण गरेको थियो, जसमा १४ जनाको मृत्यु भएको थियो र हजारौं बिरामी परेका थिए ।
FACEBOOK COMMENTS