काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई’ विदेशी आतङ्कवादी सङ्गठन’ घोषणा गर्ने अमेरिकी निर्णयको स्वागत गरेका छन् ।
विदेशमन्त्री एस जयशङ्करले यस निर्णयको लागि अमेरिकी विदेश विभाग र विदेशमन्त्री मार्को रुबियोको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल लेखेका छन्, ‘यो आतङ्कवादविरुद्ध भारत र अमेरिका बीचको बलियो सहयोगको प्रमाण हो ।’
अमेरिकी विदेश विभागले टीआरएफलाई ‘विदेशी आतङ्कवादी सङ्गठन’ घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै टीआरएफ लश्कर–ए–तैयबाको एक मोर्चा भएको जनाउदै विदेशी आतङ्कवादी सङ्गठन भएको जानकारी दिएको छ । विज्ञप्तिमा लश्कर–ए–तैयबाको एक मोर्चा टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको र यसमा २६ जना मारिएको उल्लेख छ ।
अमेरिकाले भनेको छ कि यो २००८ को मुम्बई आक्रमणपछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो, जुन लश्कर–ए–तैयबाद्वारा गरिएको थियो । टीआरएफले भारतीय सुरक्षा बलहरूमाथि भएका धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ, जसमध्ये सबैभन्दा पछिल्लो २०२४ मा भएको थियो ।
FACEBOOK COMMENTS