काठमाडौं । टिकटकले २०२५ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।
आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन गरेको निरन्तरको प्रतिबद्धताअनुरुप उक्त रिपोर्ट सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरूको विवरण राखेको छ । यसले प्रयोगकर्ताहरूलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने टिकटकको अपेक्षा छ ।
सन् २०२५ को पहिलो त्रैमासिकमा, नेपालमा मात्र टिकटकले १८,७६,५६३ वटा भिडिओहरू हटाएको छ । नेपालमा सक्रिय रूपमा हटाइएका भिडिओको दर ९९.६% रह्यो, जसमा ९७.८% भिडिओहरू २४ घण्टाभित्रै हटाइएका थिए ।
विश्वव्यापी रूपमा, टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडिओहरू हटाएको छ जुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब ०.९% हो । हटाइएका भिडिओमध्ये, १८४,३७८,९८७ वटा भिडिओ अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए, जबकि ७,५२५,१८४ भिडिओ थप समीक्षा गरेपछि पुन:स्थापित गरिएका थिए ।
सक्रिय रूपमा हटाइएका भिडिओहरूको दर ९९.०% रह्यो, जसमा ९४.३% फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए ।
हटाइएका भिडिओहरूको ३०.१% कन्टेन्ट टिकटकको कन्टेन्ट पोलिसीसँग मेल नखाने संवेदनशील वा वयष्क विषयवस्तु भएका थिए भन्ने यस प्रतिवेदनले देखाउँछ ।
थप ११.५% भिडिओहरूले प्लेटफर्मको सुरक्षा र नैतिक मापदण्ड उल्लंघन गरेका थिए, जबकि १५.६% भिडिओहरूले गोपनीयता र सुरक्षा नियमहरू तोडेका थिए । यसका साथै, हटाइएका भिडिओहरूको ४५.५% गलत सूचनाका रूपमा फ्ल्याग गरिएका थिए र १३.८% भिडिओहरू एडिट गरिएका वा एआईले बनाइएको भनेर फ्ल्याग गरिएका कारण हटाइएका थिए ।
टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशित गर्दै आएको छ जसले कन्टेन्ट र अकाउन्ट सम्बन्धी कारबाही बारे स्पष्ट जानकारी दिन्छ र यसले टिकटकको ट्रान्सपेरेन्सी पनि देखाउँछ । २०२५ को पहिलो त्रैमासिक विस्तृत रिपोर्ट तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिहरूबारे थप जानकारीका लागि टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जान सकिन्छ ।
FACEBOOK COMMENTS