काठमाडौं, साउन ६ – पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन भएका छन् ।
पहिरोले बुलिङटार गाउँपालिका–२ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए । घरमा सुतिरहेका बेला उनीहरुलाई मंगलबार बिहान करिब तीन बजेतिर आएको पहिरोले घरसँगै पुरेको थियो । पहिरोले बाख्रा र कुखुरा पनि पुरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘बाटो अवरुद्ध छ, टेलिफोन सम्पर्क पनि स्थापित हुन सकिरहेको छैन,’ एसपी रेग्मीले भने, ‘त्यसैले घटनाको विस्तृत विवरण आइसकेको छैन ।’ घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । स्थानीयवासी र जनप्रतिनिधि उद्धारमा खटिएका छन् ।
यसैबीच विनय त्रिवेणी गाउँपालिकाको भित्री सडकमा लु २ च ६१७१ नम्बरको पिकअप भ्यानलाई खहरे खोलाले बगाएको छ ।
FACEBOOK COMMENTS