चितवन । चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५४५ र मझौला अण्डाको ५३० कायम गरिएको छ । यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा २३ कायम गरिएको छ ।
नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने भएका छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् ।
यसवर्ष साउन महिनामासमेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताए । अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन् । उनले हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण सङ्कटमा रहेको बताए ।
नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल २२ लाखको हाराहारीमा झरेको जानकारी दिए ।
FACEBOOK COMMENTS